Thaha

Sunday 22 September - 1:11 pm NST

बाबुराम भट्टराई निकटका नेताहरु  एमाओवादीबाट अलग हुने, त्यसले पार्टीलाई नोक्सान नहुने प्रचण्ड पक्षको दावी

काठमाडौं, १७ कार्तिक । एकीकृत माओवादी परित्याग गरेको डा. बाबुराम भट्टराई निकटका नेताहरु आजदेखि पार्टीबाट अलग हुने भएका छन् । पार्टीको सल्लाहकार परिषद् र केन्द्रीय समितिमा रहेका नेताहरुले आज सामूहिक पत्र पार्टी कार्यालयमा बुझाएर पार्टीबाट अलग भएको घोषणा गर्न लागेका नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

हिजो भट्टराईको निवास सानेपामा भएको भेलाले पार्टीमै बसेर नयाँ शक्ति निर्माणमा लाग्न नैतिक समस्या भएको भन्दै पार्टीबाट अलग हुने निर्णय गरेको थियो । सल्लाहकार र केन्द्रीय सदस्य गरी ५० जनाभन्दा बढी आफूहरुको पक्षमा रहेको पौडेलले बताउनुभयो ।

नयाँ शक्तिको पक्षमा लाग्ने निर्णय भएपनि पत्रमा राजिनामा शब्द उल्लेख गरिएको छैन । एकीकृत माओवादी राप्रपा नेपालसँग सरकारमा सहभागि भएको र अध्यक्षले पार्टीलाई एमालेमा बुझाउने लागेको आरोप लगाउँदै पार्टी विघटनको संघारमा रहेकोले राजिनामा दिन आवश्यक नरहेको नेता खिमलाल देवकोटाको भनाई छ ।

गत मंसिरमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माण सम्बन्धि २५ बुँदे प्रस्ताव पेश गरे पनि अहिलेसम्म निष्कर्ष दिन नसकेको भन्दै पार्टीमा बस्नुको औचित्य नभएको देवकोटाको भनाई छ । बैकल्पिक धारको रुपमा नयाँ शक्ति निर्माण गर्ने भन्दै बाबुराम भट्टराईले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको थियो । नयाँ शक्ति अभियानका नामबाट संगठन विस्तार गरेर दुई महिनापछि मात्रै नयाँ पार्टी घोषणा गर्ने तयारी भट्टराई पक्षको छ । तर संस्थापन पक्षले भने त्यसले पार्टीलाई कुनै नोक्सान नपुरयाउने दावी गरेको छ ।

थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै एकीकृत माओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले मोहन बैद्य पार्टीमा रहँदासम्म संविधान नबन्ने र बाबुराम रहँदासम्म पार्टी नबन्ने भएकाले अव बल्ल पार्टी पुर्ननिर्माण हुने बताउनुभयो । केही इमान्दार नेताहरु भ्रममा परेर भट्टराईको पक्षमा लागेको भन्दै उनीहरु छिटै पार्टीमा फर्कने गजुरेलको विश्वास छ ।